होर्मुज जलडमरूमा पानीजहाजमाथि आक्रमण, अमेरिकाले सर्त नमाने जलमार्ग नखोल्ने इरानको अडान
- ०२ भदौ २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- मंगलबार बिहान होर्मुज जलडमरूमध्यबाट बाहिरिँदै गरेको एउटा पानीजहाजमाथि अज्ञात क्षेप्यास्त्र प्रहार भएको छ। बेलायती समुद्री निगरानी संस्थाका अनुसार आक्रमणबाट जहाजको इन्जिन कक्षमा क्षति पुगेको छ भने चालक दलका एक सदस्य हताहत भएका छन्। ओमानको तटरक्षक बलले चालक दलका अन्य सदस्यलाई सहयोग गरिरहेको छ। घटनामा कुनै वातावरणीय क्षति नभएको र आक्रमण कसले गर्यो भन्ने अहिलेसम्म खुल्न सकेको छैन।
यसैबीच, इरानका सभामुख मोहम्मद बगेर गालिबाफले अमेरिकाले आफ्ना सर्तहरू पूरा नगरेसम्म होर्मुज जलमार्ग नखोल्ने बताए। अमेरिकाले नाकाबन्दी खुलाउनुपर्ने र तेल प्रतिबन्ध हटाउनुपर्ने इरानको माग छ। इरान र अमेरिकाबीचको वार्ता रोकिएपछि इरानले ओमानसँग मिलेर जलमार्ग व्यवस्थापन गर्नेबारे छुट्टै छलफल गरिरहेको छ। तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ओमानले यसमा हस्तक्षेप गरे ओमानमाथि नै बम खसाल्ने धम्की दिए।
यता, मध्यपूर्वमा तनाव झन् बढ्दै जाँदा इरान समर्थित यमनका हुथी विद्रोहीले साउदी अरबको अरामको तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण गरेको दाबी गरेका छन्। साउदी अरबले भने यसबारे कुनै प्रतिक्रिया दिएको छैन। बढ्दो द्वन्द्वका बीच टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले ट्रम्पलाई फोन गरेर इरानसँगको विवाद कूटनीतिक रूपमा समाधान गर्न आग्रह गरे। टर्कीले हालै साउदी अरब र पाकिस्तानसँग संयुक्त रक्षा सम्झौता पनि गरेको छ।