मस्कोमा युक्रेनको भीषण ड्रोन आक्रमण, खार्किभमा रुसी क्षेप्यास्त्रले १० को ज्यान लियो
- ०२ भदौ २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- युक्रेनी सेनाले रुसमाथि अहिलेसम्मकै ठूलो ड्रोन आक्रमण गरेको छ। मंगलबार युक्रेनले करिब ८०० वटा ड्रोन प्रहार गरेको अधिकारीहरूले बताएका छन्। रुसी रक्षा मन्त्रालयले ७९१ वटा युक्रेनी ड्रोन खसालेको दाबी गरेको छ। मस्कोका मेयर सर्गेई सोब्यानिनले मस्कोतर्फ मात्रै ६०० भन्दा बढी ड्रोन आएको र १८० वटालाई नष्ट गरिएको बताए। यो आक्रमणले रुसको ठूलो अनलाइन कम्पनी ‘वाइल्डबेरिज’ को गोदाममा आगलागी भएको छ।
यसैबीच, युक्रेनको खार्किभ क्षेत्रस्थित पेचेनिही गाउँमा रुसले गरेको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा १० जना सर्वसाधारणको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसलाई ‘क्रूर आक्रमण’ भन्दै रुसलाई कडा जवाफ दिने बताए। त्यस्तै, सुमी क्षेत्रमा पनि रुसी आक्रमणमा तीन जनाको ज्यान गएको छ।
युक्रेनले बेलायती ड्रोन प्रयोग गरेर रुसमा आक्रमण गरेमा गम्भीर परिणाम भोग्नुपर्ने रुसले चेतावनी दिएको छ। तर, बेलायतका नयाँ प्रधानमन्त्री एन्डी बर्नहमले युक्रेनलाई दिइने समर्थन र सहयोग निरन्तर रहने प्रष्ट पारे।