बाढी प्रभावितलाई सहयोग गर्न भारत, चीन र विश्व बैंक तयार
- १० भदौ २०८३
- १ मिनेटको पढाई
रसुवा लगायतका क्षेत्रमा बाढी प्रभावितलाई उद्धार र राहत दिन भारत, चीन र विश्व बैंकले सहयोगको हात अघि बढाएका छन्। बुधबार बिहान काठमाडौं- विश्व बैंकका राष्ट्रिय निर्देशक डेविड सिस्लेनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई २५ अर्ब रुपैयाँसम्मको आपत्कालीन सहयोग दिन सकिने जानकारी गराए।
त्यस्तै, भारतले तत्काल के-के राहत सामग्री चाहिन्छ भनेर सरकारसँग सूची मागेको छ। परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय सहयोग आजै काठमाडौँ ल्याउने तयारी भइरहेको बताए।
चीनले पनि तत्काल नगद सहयोग गर्ने भएको छ। चिनियाँ राजदूत जाङ माओमिङले रकम पठाउने प्रक्रिया सुरु गर्न अर्थमन्त्रीमार्फत नेपाल सरकारलाई आग्रह गरेका छन्। छिमेकी देश र दातृ निकायले सहयोग दिने भनेपछि अर्थमन्त्री वाग्लेले धन्यवाद दिँदै कसरी सहयोग लिने भन्ने विषयमा छलफल गरिरहेका छन्।
सरकारले रसुवा, नुवाकोट र धादिङका प्रभावित ठाउँलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेपछि स्वदेशी र विदेशी सहयोग जुटाउन बाटो खुलेको छ।