१२ भदौ २०८३, शुक्रबार
28 August 2026, Friday

बाढीले ४१ पुल बगायो, बेलिब्रिज दिन भारत र चीनको प्रतिबद्धता

बाढीले ४१ पुल बगायो, बेलिब्रिज दिन भारत र चीनको प्रतिबद्धता

काठमाडौं- पूर्वाधार विकास मन्त्रालयले भोटेकोसी बाढीका कारण रसुवामा करिब ४० किलोमिटर सडक पूर्ण रूपमा भत्किएको बताएको छ। मन्त्रालयका अनुसार वेत्रावतीदेखि रसुवागढी जोड्ने सडक र गल्छीदेखि त्रिशूलीसम्मको करिब १० किलोमिटर बाटो अहिले बन्द छन्।

पृथ्वीराजमार्गको करिब १३ किलोमिटर सडकमा लेदो जमेको छ। अहिले लेदो हटाएर बाटो खुलाउने कामलाई पहिलो प्राथमिकतामा राखिएको छ। बाढीका कारण ४१ वटा पुल पूर्ण रूपमा भत्किएका छन्। सरकारसँग भएका ५० मिटरसम्म लम्बाइका ७ वटा बेलिब्रिज आवश्यकताअनुसार जडान गर्ने काम अघि बढाइएको मन्त्रालयले जनाएको छ।

अपुग बेलिब्रिज तत्काल उपलब्ध गराउन भारत र चीन सरकारले पनि प्रतिबद्धता जनाएका छन्। पहिलो चरणमा पृथ्वीराजमार्ग खुलाउने र रसुवालाई सडक सञ्जालसँग जोड्न वेत्रावतीमा बेलिब्रिज राख्ने तयारी भइरहेको छ। बाटो खुलाउन सरकारका १० र निजी क्षेत्रका १० गरी जम्मा २० वटा उपकरण परिचालन गरिएका छन्। वेत्रावतीसम्म बाटो नखुलेसम्म धुन्चे हुँदै स्याफ्रुबेँसी पुग्न नसकिने अवस्था छ।