१४ भदौ २०८३, आइतवार
30 August 2026, Sunday

बाढी प्रभावित क्षेत्रमा रोग फैलिने डर, सतर्क रहन चिकित्सकको आग्रह

बाढी प्रभावित क्षेत्रमा रोग फैलिने डर, सतर्क रहन चिकित्सकको आग्रह

काठमाडौं- चिकित्सकहरुले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सङ्क्रमणको जोखिम बढ्न सक्ने भन्दै सतर्क रहन आग्रह गरेका छन्। अब विस्तारै मानिस र जनावरको शव कुहिन थाल्ने हुनाले दुर्गन्ध र रोग फैलिन सक्ने उनीहरुले बताएका हुन्।

सङ्क्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले उद्धार र राहतसँगै स्वास्थ्यलाई पनि प्राथमिकतामा राख्नुपर्ने बताए। बाढीपछि दूषित पानी, असुरक्षित खानपान, फोहरमैला र लामखुट्टे बढ्ने भएकाले विभिन्न रोग फैलिन सक्ने उनले बताए।

समय बित्दै जाँदा शव कुहिने र ब्याक्टेरिया वा भाइरसबाट सङ्क्रमण हुने डा. पुनले बताए। उनका अनुसार, दूषित पानी र असुरक्षित खानाले गर्दा बाढी प्रभावितहरुमा झाडापखाला, टाइफाइड र ज्वरोजस्ता समस्या देखिन सक्छन्। पानी जम्ने ठाउँमा लामखुट्टे बढ्ने भएकाले जोखिम अझै थपिने उनले बताए।

बाढीले घर, सम्पत्ति र आफन्त गुमाएकाहरुलाई स्वास्थ्यका सबै उपाय अपनाउन गाह्रो हुन्छ। यस्तो अवस्थामा सरकारले उनीहरुका लागि सुरक्षित खानेपानी र सफा खानाको व्यवस्था गर्नुपर्ने डा. पुनको सुझाव छ।