१४ भदौ २०८३, आइतवार
30 August 2026, Sunday

धुन्चेमा अलपत्र यात्रुको स्थलमार्गबाट उद्धार सुरु

धुन्चेमा अलपत्र यात्रुको स्थलमार्गबाट उद्धार सुरु

काठमाडौं- भदौ १० गते भोटेकोशीमा आएको बाढीका कारण धुन्चेमा अलपत्र परेका मानिसहरुलाई स्थलमार्गबाट पनि उद्धार गर्न थालिएको छ। बागमती प्रदेश सरकारले वैकल्पिक बाटो प्रयोग गरेर त्यहाँ फसेका तीर्थयात्री, पर्यटक र सर्वसाधारणलाई काठमाडौँ ल्याउने व्यवस्था मिलाएको हो। यसको समन्वय प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले गरेका हुन्।

धुन्चेमा रोकिएकाहरुलाई त्यहीँ खाना खुवाएर गाडीमार्फत महावीरसम्म ल्याउने व्यवस्था गरिएको मुख्यमन्त्री थापाले बताए। उनका अनुसार महावीरबाट करिब एक घण्टा हिँडेर चौगटी पुगेपछि त्यहाँबाट प्रदेश सरकारले निःशुल्क बसमा राखेर उनीहरुलाई काठमाडौँ पठाइरहेको छ। चौगटीमा पनि सर्वसाधारणका लागि खानाको व्यवस्था गरिएको उनले जानकारी दिए।

त्यसैगरी, प्रदेश सरकारले त्रिशूली पारि बन्द रहेको मध्यपहाडी लोकमार्ग मर्मत गरेर खुलाउने प्रयास पनि थालेको छ। यो बाटो सञ्चालनमा आएपछि प्रभावित क्षेत्रका मानिसहरु वैकल्पिक बाटो हुँदै काठमाडौँ आउन सक्नेछन्।

यसैबीच, बाढीका कारण पूर्ण रुपमा बन्द भएको रसुवाको सडक फेरि सञ्चालनमा आएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार काठमाडौँ–टोखा–छहरे हुँदै धुन्चेसम्मको सडकखण्डमा साना चारपाङ्ग्रे गाडी चल्न थालेका छन्। सडक सम्पर्क फेरि जोडिएपछि बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार र अत्यावश्यक सामग्री पुर्‍याउन सहज हुने अपेक्षा गरिएको छ।