बाढीपछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल
- १३ भदौ २०८३
- १ मिनेटको पढाई
काठमाडौं- भोटेकोशी नदीमा आएको बाढीले ठूलो मानवीय र भौतिक क्षति पुर्याएपछि पुनर्निर्माण र पुनरुत्थानका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक परेको परराष्ट्रमन्त्री शिशिर खनालले बताएका छन्।
परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खनालले बाढीपहिरोबाट प्रभावित क्षेत्रको उद्धार र राहतमा सरकार केन्द्रित रहेको बताए। बाढीले ठूलो क्षति गरेकाले अबको पुनर्निर्माणमा अन्तर्राष्ट्रिय समुदायको सहयोग अनिवार्य भएको उनको भनाइ छ।
अहिले सरकारको पहिलो प्राथमिकता स्वदेशी र विदेशी नागरिकको ज्यान जोगाउनु र उद्धार गर्नु रहेको उनले प्रष्ट पारे। “उद्धारपछि हामी राहत र अस्थायी बसोबासको व्यवस्थापनमा लाग्छौं,” खनालले भने, “त्यसपछिको तेस्रो चरणमा मात्रै पुनर्स्थापना र पुनर्निर्माणको काम सुरु हुनेछ।” अहिले घरबारविहीन भएकाहरूलाई विद्यालय र सामुदायिक भवनमा राखिएको छ।
सरकारले सुरुङ उद्धार र फरेन्सिक जस्ता प्राविधिक काममा छिमेकी देशहरूसँग सहयोग मागेको छ। विपद्पछिको पुनर्निर्माणका लागि दाता सम्मेलन गर्ने विषयमा भने सरकारले अहिल्यै कुनै निर्णय गरिसकेको छैन। अहिले ध्यान उद्धारमै केन्द्रित भएकाले क्षतिको मूल्याङ्कन तयार पारेपछि मात्र अर्थ मन्त्रालयसँगको समन्वयमा यसबारे निर्णय लिइने खनालले बताए।
भोटेकोशीको बाढीले केही सीमित जिल्लामा मात्र असर गरेको भन्दै उनले काठमाडौं, पोखरा, लुम्बिनी, चितवन र सगरमाथा जस्ता प्रमुख पर्यटकीय गन्तव्यहरू पूर्ण रुपमा सुरक्षित रहेको जानकारी दिए। नेपाल भ्रमणका लागि सुरक्षित छ भन्ने सन्देश विश्वभर फैलाउन पनि उनले अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरे।