बाढी प्रभावितको उद्धार तीव्र, कुनै कसर बाँकी राखेका छैनौँ : प्रधानमन्त्री बालेन
- १४ भदौ २०८३
- १ मिनेटको पढाई
काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले बाढी प्रभावित क्षेत्रमा उद्धार र पुन:स्थापनाको काम नतिजा नआएसम्म निरन्तर चल्ने बताएका छन्। उनले रसुवा, नुवाकोट, धादिङ लगायतका क्षेत्रमा भएको ठूलो जनधनको क्षतिप्रति सरकार गम्भीर रहेको र उद्धारमा कुनै कसर बाँकी नराखेको प्रस्ट पारे।
उनका अनुसार अहिलेसम्म ७ हजार ५१४ जनाको हवाई र स्थल मार्गबाट सुरक्षित उद्धार गरिएको छ। प्रभावित क्षेत्रमा १६ वटा हेलिकप्टर र १८ हजार ७०८ जना सुरक्षाकर्मी खटिएका छन्। ज्यान जोखिममा राखेर खटिने सुरक्षाकर्मीको मनोबल उच्च राख्न खाजा खर्च र प्रोत्साहन भत्ता वृद्धि गरिएको पनि उनले जानकारी दिए।
बाढीका कारण हालसम्म विभिन्न स्थानमा ६७५ जनाको शव भेटिएको छ। सनाखत हुन नसकेका शवलाई हावा नछिर्ने झोलामा राखेर वैज्ञानिक पहिचानका आधारहरू सुरक्षित गरी सरकार आफैँले व्यवस्थापन गर्ने उनले बताए। पहिचान भएका शव भने परिवारको जिम्मा लगाउने काम भइरहेको छ। यसैगरी, गम्भीर घाइतेहरूलाई काठमाडौँ ल्याइएको छ भने अन्यको रसुवा र नुवाकोटका घुम्ती अस्पतालहरूमा उपचार भइरहेको छ।
बाढीबाट विस्थापित करिब ३ हजार ५०० जनालाई विद्यालय र सार्वजनिक भवनमा अस्थायी बासस्थानको व्यवस्था मिलाइएको छ। प्रभावित क्षेत्रमा संकलित राहत सामग्रीहरू निरन्तर पठाइने क्रम जारी छ। यस्तै, बाढीले अवरुद्ध गरेका अधिकांश सञ्चार टावरहरू मर्मत गरेर सेवा सुरु गरिएको छ। काठमाडौँ-धुन्चे सडक र पृथ्वी राजमार्गको गल्छी-मलेखु खण्डको लेदो पन्छाएर यातायात समेत पूर्ण रूपमा सुचारु गरिएको छ।