१६ भदौ २०८३, मङ्लबार
1 September 2026, Tuesday

रसुवा बाढी: ९०३ को शव भेटियो, ४ हजारभन्दा बढी बेपत्ता

रसुवा बाढी: ९०३ को शव भेटियो, ४ हजारभन्दा बढी बेपत्ता

काठमाडौं- रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउने ९०३ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले भदौ १५ गते बिहानसम्मको तथ्यांक सार्वजनिक गर्दै बाढीले ठूलो जनधनको क्षति गरेको बताएको छ।

बाढीले बगाएका शवहरू रसुवादेखि चितवन र नवलपरासीसम्म भेटिएका छन्। प्राधिकरणका अनुसार चितवनमा सबैभन्दा धेरै २७२ शव भेटिएका छन् भने रसुवामा २४ शव फेला परेका छन्। बाढीका कारण अझै ४ हजार २४७ जना सम्पर्कविहीन छन्। बेपत्ता हुनेमा रसुवा र नुवाकोटका स्थानीय, जलविद्युत आयोजनाका कर्मचारी, ५९२ विदेशी नागरिक र सुरक्षाकर्मीसमेत छन्। पहिचान नखुलेका शव र मानव अंगलाई २१ वटा विभिन्न अस्पतालमा राखिएको छ।

बाढीमा परी २६७ जना घाइते भएकामा १५६ जना उपचारपछि घर फर्केका छन्। बाँकी घाइतेको उपचार गर्न प्रभावित क्षेत्रमा ६ वटा शल्यक्रियासहितको स्वास्थ्य टोली खटिएका छन्। खोज तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी २० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएका छन्। सेनाको हेलिकप्टरले ४११ उडान भरेर १० हजारभन्दा बढीको उद्धार गरेको छ।

सरकारले राहत वितरणलाई पनि तीव्रता दिएको छ। रसुवा र नुवाकोटलाई एक-एक करोड तथा धादिङलाई ५० लाख रुपैयाँ नगद पठाइएको छ। यस्तै, प्रभावित १५ वटा पालिकालाई ६ करोड ७५ लाख रुपैयाँ दिइएको छ। स्थलमार्ग र हेलिकप्टरबाट खाद्यान्न, औषधि र स्वास्थ्य सामग्री पुर्‍याउने काम भइरहेको छ। प्रभावित क्षेत्रमा इन्धनको अभाव नभएको र पर्याप्त मौज्दात रहेको प्राधिकरणले जनाएको छ।