१६ भदौ २०८३, मङ्लबार
1 September 2026, Tuesday

कृष्णभीरमा सडक भासियोः सवारीसाधन वैकल्पिक बाटोबाट चल्दै

कृष्णभीरमा सडक भासियोः सवारीसाधन वैकल्पिक बाटोबाट चल्दै

काठमाडौं- पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँ भित्रिने र बाहिरिने सवारीसाधनलाई वैकल्पिक बाटोबाट सञ्चालन गरिएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यात्रु बोक्ने गाडीलाई काठमाडौँ–बाइरोड–नौबिसे–पालुङ–भैँसे र फर्पिङ–कुलेखानीको बाटो हुँदै पठाइएको छ। मालवाहक गाडीलाई भने कान्ति लोकपथबाट पठाउने व्यवस्था मिलाइएको छ।

रसुवा जाने गाडीले टोखा–छहरे–नुवाकोटको बाटो प्रयोग गर्न सक्ने ट्राफिक प्रहरीका प्रवक्ता नरेशराज सुवेदीले बताए। उनका अनुसार रसुवाको धुन्चेसम्म राहत सामग्री पुर्‍याउन अहिले चारपाङ्ग्रे गाडी मात्र जान सक्छन्। बाटो कच्ची भएकाले राहत बोकेका गाडीले ट्राफिक प्रहरीसँग समन्वय गरेर मात्र हिँड्न उनले जानकारी दिए।

वैकल्पिक बाटोमा गाडीको चाप बढेकाले जाम र दुर्घटना हुन नदिन आफ्नो पालोमा मात्र गाडी चलाउन र ओभरटेक नगर्न ट्राफिक प्रहरीले चालकहरूलाई आग्रह गरेको छ।