भोटेकोशी बाढी: नेपाललाई तत्काल आर्थिक सहयोग दिन राष्ट्रसंघमा माग
- १८ भदौ २०८३
- १ मिनेटको पढाई
काठमाडौं- रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी र पहिरोपछि नेपाललाई तत्काल आर्थिक सहायता दिन माग गरिएको छ। संयुक्त राष्ट्रसंघको ‘हानि तथा नोक्सानी कोष’ का सञ्चालक समिति सदस्यहरूले नेपालको अवस्थालाई सम्बोधन गर्न आपत्कालीन बैठक बोलाउन औपचारिक माग गरेका हुन्।
कृषि, वन तथा पर्यावरण मन्त्रालयका अनुसार अफ्रिकी, एसिया–प्रशान्त क्षेत्र र अल्पविकसित देशका १४ जना बोर्ड सदस्यले संयुक्त पत्र लेख्दै सहयोगको माग गरेका हुन्। कोषका सहअध्यक्ष र कार्यकारी निर्देशकलाई आज पठाइएको पत्रमा भदौ १० गतेको बाढीले पुर्याएको ठूलो मानवीय क्षति, विस्थापन तथा ऊर्जा र यातायातलगायतका पूर्वाधारको विनाशलाई ध्यानमा राखेर तत्काल स्रोतसाधन जुटाउन आग्रह गरिएको छ।
यसअघि भदौ १५ गते वनमन्त्री गिता चौधरी र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पनि आपत्कालीन सहयोगका लागि कोषलाई औपचारिक पत्र पठाएका थिए। उनीहरूको सोही अपिललाई आधार मानेर विकासशील देशका प्रतिनिधिहरूले नेपाललाई तत्काल सहयोग गर्नुपर्ने पक्षमा आवाज उठाएका हुन्।