१९ भदौ २०८३, शुक्रबार
4 September 2026, Friday

सानो गल्तीको ठूलो सजाय भोग्दैछौं : प्रधानमन्त्री शाह

सानो गल्तीको ठूलो सजाय भोग्दैछौं : प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण नेपालले नगन्य गल्तीको ठूलो सजाय भोगेको बताए। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढी त्यसैको नतिजा भएको उनले प्रष्ट पारे।

सामाजिक सञ्जालमार्फत आफ्नो भनाइ राख्दै उनले हिमाल पग्लिने समस्या समुन्द्रको तटसम्म पुगेको र यसको जवाफ विश्व समुदायसँग खोज्नुपर्ने बताए। विपद् व्यवस्थापन चुनौतीपूर्ण भए पनि उपलब्ध स्रोतसाधन प्रयोग गरेर सरकार निरन्तर खटिएको र अन्तर्राष्ट्रिय सहयोग पनि प्राप्त भइरहेको उनले जानकारी दिए।

सङ्घ, प्रदेश र स्थानीय तहको समन्वयमा प्रभावितलाई सुरक्षित स्थानमा राखिएको छ। प्रधानमन्त्री शाहका अनुसार नुवाकोटका २४ वटा अस्थायी आश्रयस्थलमा २ हजार ७९६, रसुवाका ५ वटामा १९५ र काठमाडौँका २ वटामा ३०० जना नागरिकलाई राखिएको छ। रसुवाका ४ हजार ५०० प्रभावितलाई प्रत्येक दिन हेलिकोप्टरबाट राहत वितरण गरिएको छ। घटनालगत्तै मन्त्रिपरिषद् बैठकले प्रभावित क्षेत्रलाई ३ महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको थियो।

बाढी प्रभावित क्षेत्रमा पूर्वाधार निर्माणको काम पनि तीव्र पारिएको उनले बताए। प्रभावित क्षेत्रमा ९५ प्रतिशत सञ्चार सेवा सञ्चालनमा आएको छ भने निकै कम घरमा मात्र विद्युत् सेवा पुर्‍याउन बाँकी छ। गल्छी-मुग्लिन सडकको कृष्णभीरमा भित्ता काटेर बाटो खोल्न सुरु भएको र भदौभित्रै यातायात खुलाउने लक्ष्य सरकारको छ। कृष्णभीरको दीर्घकालीन समाधानका लागि सुरुङ लगायतका अन्य प्राविधिक विकल्पबारे अध्ययन गरिने उनले बताए। परेवाभीरमा वैकल्पिक बाटो बनाएर यातायात सुरु भइसकेको छ।

यसैगरी, त्रिशूली-बेत्रावती सडकखण्डको १० किलोमिटरमध्ये ८ किलोमिटरमा लेदो पन्छाइसकिएको छ। तादी र बेत्रावती नदीमा अस्थायी फलामे पुल राख्न जग निर्माण सुरु भएको र त्रिशूली नदीमा पनि पुलको अध्ययन सकिएको उनले जानकारी दिए। क्षतिग्रस्त थप ३५ किलोमिटर सडकमा काम गर्न आपत्कालीन बोलपत्रसमेत आह्वान भइसकेको छ।