‘हामी नेपाली इन्टरनेसनलद्धारा चार जिल्लामा ३ लाखको खाद्यान्नसहित पहिलो लट राहत वितरण
- १९ भदौ २०८३
- २ मिनेटको पढाई
काठमाडौं- रसुवाको भोटेकोशी –ल्हेन्दे नदीमा आएको बाढीबाट प्रभावित परिवारको उद्धार, राहत र पुनर्स्थापना गर्न ‘हामी नेपाली इन्टरनेसनल’ को समन्वयमा रसुवा, नुवाकोट, धादिङ र चितवनमा संयुक्त अभियान तीव्र पारिएको छ।
रसुवा उत्तरगया गाउँपालिका–१ का ५७ प्रभावित परिवारलाई विदुर नगरपालिका–४ मा जनप्रतिनिधिको सिफारिस र एकद्वार प्रणालीमार्फत ३ लाख रुपैयाँ बराबरको पहिलो लट राहत सामग्री वितरण गरिएको छ। काठमाडौंको बाँसबारीस्थित आदित्य खाद्य स्टोरबाट खरिद गरिएको उक्त राहत सामग्रीमा ६८ बोरा जिरा चामल, १५ बोरा मुसुरो दाल, १५ कार्टुन सनफ्लावर तेल, १५० प्याकेट हुलास आटा र ३०० प्याकेट नुन समावेश छन्। अहिले पहिलो लटको सामान बाँडिएको र आवश्यकता अनुसार आगामी दिनमा अरू लट पनि पठाइने संस्थाले जनाएको छ।
दुङ्गे–कोलोनी क्षेत्रमा पुल र सडक बाढीले भत्काएका कारण करिब ७० बोरा राहत सामग्री तत्काल प्रभावितसम्म पुर्याउन गाह्रो भएको छ। ती सामग्री पनि स्थानीय प्रशासन र स्वास्थ्य निकायसँग मिलेर वास्तविक पीडितसम्म पुर्याउने काम भइरहेको छ।
प्रभावित क्षेत्रमा राहत र विपद् व्यवस्थापनको सम्पूर्ण काम संस्थाकी नुवाकोट संयोजक सन्तुमाया तामाङले मिलाएकी छन्। अभियानमा संस्थाका नेपाल संयोजक ज्ञानबहादुर लामा, अन्तर्राष्ट्रिय संयोजक नवराज के.सी. र कोषाध्यक्ष डा. राम खड्का लगायतको सक्रिय सहयोग रहेको छ।
यस अभियानमा मेडिकल टोली, इन्जिनियर, स्वास्थ्यकर्मी र स्वयंसेवक खटिएका छन्। प्राविधिक टोलीको नेतृत्व मुख्य इन्जिनियर लक्ष्मण के.सी. र इन्जिनियर लामा लगायतले गरेका छन्। बालबालिका, महिला र ज्येष्ठ नागरिकको संरक्षण अनि आश्रयस्थल व्यवस्थापनमा बिमाया तामाङ, शोभा श्रेष्ठ नेम्बाङ र मुना लिम्बूको टोली खटिएको छ। स्वास्थ्य र सरसफाइमा जनस्वास्थ्य विज्ञ ज्ञानेन्द्र प्रकाश घले लगायतले सघाएका छन्।
बाढीपीडितलाई केही दिनको राहत मात्र दिएर नपुग्ने भन्दै संस्थाले उनीहरूको सुरक्षित आवास, स्वास्थ्य, शिक्षा र जीविकोपार्जनसहितको दीर्घकालीन पुनर्स्थापनालाई प्राथमिकतामा राखेको छ। संस्थाले बाढीपीडितलाई आफ्नै खुट्टामा उभ्याउने यस अभियानमा साथ दिन स्वदेश र विदेशमा रहेका सहयोगी दातालाई आह्वान गरेको छ।