२१ भदौ २०८३, आइतवार
6 September 2026, Sunday

बाढीपीडितलाई सहयोग: प्रधानमन्त्री कोषमा रकम जुट्ने क्रम जारी

बाढीपीडितलाई सहयोग: प्रधानमन्त्री कोषमा रकम जुट्ने क्रम जारी

काठमाडौं- भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढी प्रभावितको राहतका लागि प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग जुटिरहेको छ। रेस्टुरेन्ट ‘सेकुवा बाई किलो’ले बाढीपीडितका लागि २० लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ। आफ्ना ५ वटा शाखाको एक दिनको सम्पूर्ण कमाइ, कर्मचारीको एक दिनको तलब र बोर्ड सदस्यबाट जनही एक लाख उठाएर उनीहरुले सो रकम अर्थमन्त्री स्वर्णिम वाग्लेलाई बुझाएका हुन्।

त्यस्तै, गुल्मीका विभिन्न यातायात व्यवसायीले ५ लाख १ हजार रुपैयाँ कोषमा जम्मा गरेका छन्। गुल्मी यातायात, आगन सेवा, मैत्री र रुरु रेसुङ्गा प्रालि मिलेर महासंघमार्फत उक्त रकम दिएका हुन्। यता, उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय चितवनले आफ्ना तालिममा बनेका ३ लाख ८६ हजार ५२५ रुपैयाँ बराबरका कपडा र जुत्ताचप्पल बाढीपीडितलाई पठाएको कार्यालय प्रमुख विनोद पौडेलले बताए।

पत्रकार महासंघ बागमती प्रदेशले पनि बाढी प्रभावित पत्रकारलाई एक लाख रुपैयाँ सहयोग गरेको अध्यक्ष कृष्ण सारु मगरले बताए। उता, तनहुँको आँबुखैरेनी गाउँपालिकाले बाढीमा बेपत्ता भएका ४ जनाका परिवारलाई खोजी कार्यमा सजिलो होस् भनेर जनही २५ हजार रुपैयाँ दिने निर्णय गरेको छ। बेपत्ताको खोजी र उद्धारमा समन्वय भइरहेको गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताए।