नेपालको विपद्मा अष्ट्रेलिया नेपालीको साथमा छ : प्रधानमन्त्री अल्बानीज
- २२ भदौ २०८३
- १ मिनेटको पढाई
सिड्नी- अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले त्यहाँको संसदमा नेपाल र चीनको तिब्बतमा आएको बाढीबारे बोलेका छन्। अगस्ट २६ मा हिमताल फुटेर आएको बाढीले दुवैतर्फ ठूलो क्षति गरे पनि सबैभन्दा बढी मार नेपालले खेपेको उनले बताए।
संसदलाई सम्बोधन गर्दै उनले मानिसहरुले घर, गाउँ र परिवार गुमाएको भन्दै दुःख व्यक्त गरे। विपद्मा परेर ३६ जना अष्ट्रेलियाली नागरिक अहिलेसम्म सम्पर्कविहीन रहेको उनले जानकारी दिए। बेपत्ता भएकाहरुको पर्खाइमा परिवारजन रहेको उनले बताए।
उनले शुक्रबार नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँग (मन्तव्यमा उनले यस्तै उल्लेख गरेका छन्) फोनमा कुरा गरेको बताए। अष्ट्रेलियाको तर्फबाट उनले बाढी प्रभावित सम्पूर्ण नेपालीप्रति समवेदना प्रकट गरे। नेपालले राष्ट्रिय शोक मनाइरहँदा यस विपद्मा अष्ट्रेलिया नेपालीहरुको साथमा रहेको उनले स्पष्ट पारे।
अष्ट्रेलियाली सरकारले त्यहाँ रहेका नेपाली, तिब्बती र भारतीय समुदायसँग समन्वय गरिरहेको उनले खुलाए। आपत्कालीन राहत कोषमा सहयोग गरेर अष्ट्रेलियाली नागरिकले देखाएको करुणा र मानवीय भावनाको उनले प्रशंसा गरे। जस्तोसुकै ठूलो विपद् आए पनि सबै मिलेर सामना गर्ने उनले बताए।