अमेरिकी सेनाद्वारा इरानका तीनवटा कच्चा तेल वाहक जहाजमाथि आक्रमण
- २२ भदौ २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- अमेरिकी सेनाले इरानका तीनवटा कच्चा तेल वाहक जहाजमाथि आक्रमण गरी क्षति पुर्याएको छ। अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकप) ले शनिबार सामाजिक सञ्जालमार्फत उक्त सैन्य कारबाहीको पुष्टि गरेको हो।
सेन्टकपका अनुसार इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्सले क्षेत्रीय जलक्षेत्रमा गस्ती गरिरहेका अमेरिकी नौसेनाका दुईवटा युद्धपोतमाथि ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो। त्यसपछि जवाफी कारबाहीमा अमेरिकी सेनाले ती जहाजहरूलाई निशाना बनाएको हो। इरानी क्षेप्यास्त्र प्रहारबाट कुनै पनि अमेरिकी सैनिक वा कर्मचारी घाइते नभएको बताइएको छ।
अमेरिकी कारबाहीमा खार्ग टापु नजिकै रहेको ‘एमटी डाउनी’ र जास्क नजिकै रहेको ‘एमटी स्टार्क १’ नामक कच्चा तेल वाहक जहाज काम नलाग्ने गरी क्षतिग्रस्त भएका छन्। त्यसैगरी, ओमानको खाडीमा रहेको ‘एमटी कायलो’ नामक रित्तो तेल जहाजलाई पूर्ण रूपमा नष्ट गरिएको छ।
‘एमटी कायलो’ का चालक दलका सदस्यहरूलाई पहिले बाहिर निस्कन लगाएर मात्र संवेदनशील भागहरूमा प्रहार गरिएको सेन्टकपले जनाएको छ। मध्यपूर्वमा तनाव बढिरहेका बेला भएको यस घटनालाई अन्तर्राष्ट्रिय सुरक्षा निकायहरूले चासोका साथ हेरेका छन्।