मेक्सिकोमा पटाका विस्फोट: १० जनाको मृत्यु, ६४ घाइते
- २२ भदौ २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- मेक्सिकोको टेमास्काल्सिङ्गो नगरपालिकामा पटाका पड्किँदा १० जनाको ज्यान गएको छ भने ६४ जना घाइते भएका छन्। एउटा धार्मिक पर्वका लागि जम्मा गरेर राखिएको पटाका पड्किएर यो दुर्घटना भएको हो।
राज्य सरकारका अनुसार शनिबार राति साढे ९ बजेतिर स्थानीय एउटा चर्चमा विस्फोट भएको थियो। विस्फोटले चर्चको छानो र पर्खाल भत्किँदा केही मानिस भग्नावशेषमा पुरिएका थिए। आठ जनाको घटनास्थलमै मृत्यु भएको थियो। घाइतेहरूलाई उपचारका लागि नजिकैका अस्पतालमा लगिएको छ।
अहिले उद्धार र सुरक्षाका लागि सेना र प्रहरीलगायतका सुरक्षाकर्मी परिचालन गरिएका छन्। अधिकारीहरूले त्यहाँ बाँकी रहेका विस्फोटक सामग्री सुरक्षित रूपमा निष्क्रिय पार्न विशेषज्ञ खटाएका छन्। घटना कसरी भयो भन्ने बारे थप अनुसन्धान भइरहेको छ।