३१ भदौ २०८३, बुधबार
16 September 2026, Wednesday

चिलिमे र अप्पर त्रिशूली जलविद्युत् आयोजनामा ९ शव भेटिए

चिलिमे र अप्पर त्रिशूली जलविद्युत् आयोजनामा ९ शव भेटिए

काठमाडौं- रसुवाको चिलिमे र अप्पर त्रिशूली जलविद्युत् आयोजनामा बाढीपछि बेपत्ता भएका ९ जनाको शव भेटिएको छ।

उद्धार टोलीले चिलिमेको सुरुङ खन्ने क्रममा विद्युत् गृह क्षेत्रबाट तीन वटा पूरा शव र एउटा मानव अङ्ग फेला पारेको रसुवाका प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले जानकारी दिए। गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले सो केन्द्रको भवन र पर्खाल बगाउनुका साथै सुरुङ बन्द गरेको थियो। बाढी आएको दिन केन्द्रमा बिहानको समयमा इन्जिनियरसहित ६ जना कर्मचारी काम गरिरहेको वरिष्ठ सहायक कमलबहादुर खरेलले बताए।

त्यसैगरी, उद्धारमा खटिएको सुरक्षाकर्मीको टोलीले अप्पर त्रिशूली जलविद्युत् आयोजना–१ को सुरुङभित्र थप ५ जनाको शव फेला पारेको छ। उत्तरगया–१ दलदुङ खोलाको ८०० मिटरभित्र सुरुङमा पहिचान खुल्न नसकेको अवस्थामा ती शव भेटिएको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए।

अहिले नेपाली सेनाको नेतृत्वमा सशस्त्र प्रहरी, विद्युत् प्राधिकरण र भारतीय सेनासहितको टोलीले खोजी तथा उद्धारको काम गरिरहेको छ। सेनाले सुरुङभित्र फसेका कर्मचारीको उद्धारमा सहयोग गर्न सदरमुकाम धुन्चेमा एउटा हेलिकप्टर तयारी अवस्थामा राखेको छ।