१ अशोज २०८३, बिहिबार
17 September 2026, Thursday

प्रधानमन्त्री राहत कोषमा साढे १४ अर्ब जम्मा, रसुवाका बाढी पीडितलाई घरभाडा दिइने

प्रधानमन्त्री राहत कोषमा साढे १४ अर्ब जम्मा, रसुवाका बाढी पीडितलाई घरभाडा दिइने

काठमाडौं- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा झन्डै साढे १४ अर्ब रुपैयाँ जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार नौवटा बैंकमा करिब १० अर्ब ७९ करोड रुपैयाँ र दुईवटा डलर खातामा २ करोड ३९ लाख अमेरिकी डलर गरी कुल १४ अर्ब ४५ करोड रुपैयाँभन्दा बढी रकम जम्मा भएको हो।

कोषमा जम्मा भएको रकममध्ये रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित भएकाहरूलाई राहत दिन १ अर्ब रुपैयाँ पठाइसकिएको छ। सरकारले बाढी प्रभावित परिवारलाई घरभाडा र अन्य खर्चको व्यवस्थापन गर्न हरेक महिना नगद नै दिने निर्णय गरेको छ।

सरकारको निर्णयअनुसार चार जनासम्म सदस्य भएको परिवारले मासिक १५ हजार रुपैयाँ पाउनेछन्। परिवारमा चार जनाभन्दा धेरै सदस्य भएमा थप प्रत्येक व्यक्तिको लागि २ हजार रुपैयाँका दरले अतिरिक्त रकम दिइनेछ।