१ अशोज २०८३, बिहिबार
17 September 2026, Thursday

राष्ट्रसंघको महासभामा नेपालले जलवायु न्याय र क्षतिपूर्तिको मुद्दा सशक्त रूपमा उठाउने

राष्ट्रसंघको महासभामा नेपालले जलवायु न्याय र क्षतिपूर्तिको मुद्दा सशक्त रूपमा उठाउने

काठमाडौं- संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालले जलवायु परिवर्तनबाट भएको क्षति, जलवायु न्याय र आर्थिक सहयोगको विषयलाई गम्भीर रूपमा उठाउने भएको छ। परराष्ट्र सचिव अमृतबहादुर राईले संसदीय समितिको बैठकमा यस विषयमा जानकारी दिएका हुन्।

नेपालले निकै कम हरितगृह ग्यास उत्सर्जन गरे पनि जलवायु परिवर्तनको ठूलो असर भोगिरहेको कुरा विश्वसामु राख्ने उनले बताए। नेपालले जलवायुजन्य विपद्बाट प्रभावित देशहरूका लागि क्षतिपूर्ति कोषबाट तत्काल आर्थिक सहयोग पाउनुपर्ने माग गर्नेछ। यसका साथै, नेपालले वन, हिमाल र नदी प्रणालीमार्फत विश्वको वातावरण संरक्षणमा पुर्‍याएको योगदानबारे पनि जानकारी गराउनेछ।

असोज ६ देखि १२ गतेसम्म हुने महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली टोलीको नेतृत्व गर्दैछन्। उनले असोज ८ गते महासभालाई सम्बोधन गर्ने र राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई भेट्ने कार्यक्रम छ।

त्यस्तै, परराष्ट्रमन्त्री शिशिर खनालले विभिन्न देशका मन्त्रीस्तरीय बैठकहरूमा भाग लिनेछन्। महासभाको बेला नेपालले अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन ‘सहरदेखि समुद्रसम्म’ विषयक विशेष कार्यक्रम पनि आयोजना गर्दैछ।