३ अशोज २०८३, शनिबार
19 September 2026, Saturday

जापानमा आजदेखि २० औँ एसियाड सुरु, नेपालका १३५ खेलाडी सहभागी

जापानमा आजदेखि २० औँ एसियाड सुरु, नेपालका १३५ खेलाडी सहभागी

टोकियो- जापानको नागोया सहरमा आजदेखि २० औँ एसियाली खेलकुद (एसियाड) सुरु हुँदैछ। ‘इमाजिन वन एसिया’ को नारासहित सुरु हुन लागेको प्रतियोगिताको औपचारिक उद्घाटन शनिबार पालोमा मिजुहो रङ्गशालामा हुनेछ।

उद्घाटन समारोहमा जापानी सम्राट् नारुहितो र साम्राज्ञी मासाको सहभागी हुने बताइएको छ। सुरक्षा व्यवस्था कडा बनाउँदै उद्घाटन कार्यक्रमका लागि मात्रै जापानले १० हजार सुरक्षाकर्मी परिचालन गरेको छ। महिला क्रिकेट, महिला फुटबल, भलिबल र बास्केटबल लगायतका केही खेलहरू भने उद्घाटन अगावै सुरु भइसकेका छन्।

असोज १८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा एसियाभरबाट १७ हजारभन्दा बढी खेलकर्मी सहभागी छन्। खेलहरू नागोयाका साथै टोकियो, सिजोका, गफु र ओसाकामा समेत आयोजना गरिँदैछ। यस पटकको एसियाडमा नेपालका तर्फबाट २१ खेलमा १३५ खेलाडीले प्रतिस्पर्धा गर्दैछन्।