३ अशोज २०८३, शनिबार
19 September 2026, Saturday

संविधान दिवसमा राष्ट्रपति र उपराष्ट्रपतिको शुभकामना, बाढी प्रभावितको उद्धारमा जुट्न आह्वान

संविधान दिवसमा राष्ट्रपति र उपराष्ट्रपतिको शुभकामना, बाढी प्रभावितको उद्धारमा जुट्न आह्वान

काठमाडौं- संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवले देशबासीलाई शुभकामना दिएका छन्।

राष्ट्रपति पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमार्फत देशमा दिगो शान्ति, सुशासन र समृद्धि हासिल गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरेका छन्। उनले संविधानले सबै जाति, भाषा र संस्कृतिलाई समान संरक्षण दिएको बताउँदै आपसी सद्‍भाव र भाइचारामा आँच आउने काम कोहीबाट नहुने विश्वास व्यक्त गरे। राज्यका सेवा सुविधामा सबै नागरिकको समान पहुँच र सामाजिक सुरक्षाको प्रत्याभूति हुनुपर्नेमा उनले जोड दिए।

साथै, राष्ट्रपति पौडेलले रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीले पुर्‍याएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनले यो कठिन समयमा बाढी प्रभावितको उद्धार, राहत र पुनस्र्थापनामा एकजुट भएर लाग्न सबैलाई आह्वान गरेका छन्।

यसैगरी, उपराष्ट्रपति यादवले संविधान दिवसको शुभकामना दिँदै समावेशिता, समानता र समानुपातिक प्रतिनिधित्वमा सबैको प्रतिबद्धता हुनुपर्ने बताए। उनले संविधान नेपाली जनताको लामो संघर्षको ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै यसको समावेशी चरित्र र लचकतालाई जोड दिएका छन्।