भारतीय उद्योगीलाई नेपालमा लगानी गर्न अर्थमन्त्री वाग्लेको आग्रह
- ०३ अशोज २०८३
- १ मिनेटको पढाई
काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय उद्योगीहरूलाई नेपालमा नयाँ लगानी गर्न आह्वान गर्दैछन्। भारत भ्रमणमा रहेका उनले शनिबार बिहान नयाँदिल्लीमा हुने एक छलफल कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो आग्रह गर्न लागेका हुन्।
भारतीय उद्योग परिसङ्घ (सीआईआई) ले आफ्नो मुख्यालयमा आयोजना गरेको छलफलमा उनी प्रमुख अतिथिको रूपमा सहभागी हुँदैछन्। सीआईआईकी अध्यक्ष डा. सुचित्रा के. इलाको अध्यक्षतामा हुने उक्त कार्यक्रममा वाग्लेले नेपालमा लगानीमैत्री कानुन, लगानीको सुरक्षा र प्रतिफलको सुनिश्चितता रहेको कुरा प्रस्ट पार्नेछन्।
साथै, उनले नेपालमा पहिले नै लगानी गरिसकेका उद्योगीहरूलाई पनि आफ्नो लगानी विस्तार गर्न आग्रह गर्नेछन्। वाग्लेसँगको छलफलमा परिसङ्घका पूर्वअध्यक्ष सञ्जीव पुरीसहित करिब दुई दर्जन भारतीय उद्योगीहरूको सहभागिता रहने बताइएको छ।