सिकागोमा अमेरिकी नागरिकमाथि ज्यादती गर्ने आइस (ICE) अधिकारीलाई कारबाही हुने वकिलको दाबी
- ०३ अशोज २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- गत वर्ष सिकागोमा भएको अध्यागमन कारबाही (अपरेशन मिडवे ब्लिट्ज) का क्रममा अमेरिकी नागरिकमाथि अत्यधिक बल प्रयोग गर्ने अध्यागमन तथा भन्सार प्रवर्तन (आइस) का अधिकारीहरू छिट्टै कानुनी दायरामा आउने एक वकिलले दाबी गरेका छन्। सिकागोका १५ जना स्थानीयको तर्फबाट सरकारविरुद्ध उजुरी दर्ता गरेपछि वकिल एन्टोनियो रोमानुचीले आइस अधिकारीहरूलाई सजाय दिलाउन पर्याप्त भिडियो र तस्बिर प्रमाण रहेको बताए।
उजुरी दिनेहरूमा अमेरिकी नागरिक, ग्रिनकार्ड बाहक, पत्रकार र स्थानीय जनप्रतिनिधिसमेत छन्। उनीहरूले शान्तिपूर्ण विरोध गर्दा र भिडियो खिच्दा आफूहरूमाथि गैरकानुनी रूपमा बल प्रयोग गरिएको र संवैधानिक अधिकार हनन भएको आरोप लगाएका छन्। स्थानीय जनप्रतिनिधि जुआन मुनोजले नागरिकको अधिकार कुल्चिने छुट कसैलाई नभएको बताए। त्यस्तै, वकिल रोमानुचीले भिडियोले कहिल्यै झुट नबोल्ने भन्दै अधिकारीहरूले गरेका ज्यादतीको हिसाबकिताब छिट्टै हुने दाबी गरे।
गत वर्ष ट्रम्प प्रशासनले सञ्चालन गरेको ‘मिडवे ब्लिट्ज’ कारबाहीका क्रममा ४ हजार ५०० भन्दा बढी आप्रवासी पक्राउ परेका थिए। तर, यस क्रममा सर्वसाधारणमाथि अत्यधिक बल प्रयोग भएको भन्दै चर्को आलोचना भएको थियो। यता, अमेरिकी आन्तरिक सुरक्षा विभाग (डिएचएस) ले भने आफ्ना अधिकारीहरूको बचाउ गरेको छ। विभागले काममा बाधा पुर्याउनेहरूलाई कानुनबमोजिम कारबाही हुने र अधिकारीहरूमाथि जतिसुकै मुद्दा लागे पनि अवैध आप्रवासीलाई पक्राउ गर्ने काम नरोकिने स्पष्ट पारेको छ। यदि ६ महिनाभित्र विभागले यी उजुरीहरू समाधान नगरे मुद्दा संघीय अदालतमा लगिने वकिलहरूले बताएका छन्।