३ अशोज २०८३, शनिबार
19 September 2026, Saturday

संविधानको अक्षर र भावनाप्रति सरकार पूर्ण प्रतिबद्ध छ : प्रधानमन्त्री वालेन्द्र शाह

संविधानको अक्षर र भावनाप्रति सरकार पूर्ण प्रतिबद्ध छ : प्रधानमन्त्री वालेन्द्र शाह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सरकार संविधानको अक्षर र भावनाप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्। संविधान दिवसको अवसरमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै उनले सहिदको रगतले लेखिएको संविधानलाई सरकारले आफ्नो काममार्फत पूरा गर्ने दाबी गरे।

प्रधानमन्त्री शाहले जनताले सुशासन, विकास, समृद्धि र सामाजिक न्याय खोजेको उल्लेख गर्दै सरकारका हरेक कदम त्यसतर्फ केन्द्रित रहेको स्पष्ट पारे। “भ्रष्टाचार र दण्डहीनताको जरो गहिरो छ, तर त्यसलाई उखेल्ने हातहरू अब झन् बलिया भएका छन्,” उनले भने। प्रशासनमा राजनीतिक तटस्थता, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र योग्यताका आधारमा नियुक्ति प्रक्रियालाई सरकारले कडाइका साथ अघि बढाएको उनले जानकारी दिए।

त्यसैगरी, उनले प्रविधि र नवप्रवर्तनलाई जोड दिँदै कृत्रिम बुद्धिमत्ता र साइबर सुरक्षालाई सँगै लगेर ज्ञानमा आधारित अर्थतन्त्र निर्माण गर्ने लक्ष्य राखेको बताए। युवा पुस्ताले सडकबाट मागेको सुशासनलाई डिजिटल प्रविधिको माध्यमबाट सुनिश्चित गरिने उनको भनाइ थियो।

सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले भोटेकोसी बाढीमा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै विपद् व्यवस्थापन र पूर्वतयारीलाई उच्च प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए। उनले राजनीतिक परिवर्तन र ऐतिहासिक ‘जेनजी’ आन्दोलनका सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै बाढी प्रभावितको उद्धारमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए।