पश्चिम एसिया भ्रमणबारे पुनर्विचार गर्न अमेरिकी नागरिकलाई आग्रह
- ०४ अशोज २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- यमनका हुथी विद्रोहीले साउदी अरबमाथि मिसाइल र ड्रोन आक्रमण गरेपछि अमेरिकाले पश्चिम एसियामा तनाव बढेको भन्दै त्यहाँको भ्रमणबारे पुनर्विचार गर्न आफ्ना नागरिकलाई आग्रह गरेको छ। यस क्षेत्रमा अचानक द्वन्द्व चर्किन सक्ने, उडान अवरुद्ध हुने र अमेरिकी स्वार्थमाथि आक्रमण हुन सक्ने अमेरिकाले चेतावनी दिएको छ।
अमेरिकी विदेश मन्त्रालयले पश्चिम एसियामा रहेका आफ्ना नागरिकलाई उच्च सतर्कता अपनाउन र उडान रद्द वा हवाई क्षेत्र बन्द हुन सक्ने अवस्थाका लागि तयार रहन भनेको छ। मन्त्रालयका अनुसार इरान र उसका समर्थक समूहले विदेशमा रहेका अमेरिकी व्यवसाय तथा संस्थाहरूलाई निशाना बनाउन सक्छन्। साउदी अरबका लागि अमेरिकाले ‘लेभल ३’ को ट्राभल एड्भाइजरी जारी राखेको छ, जसको अर्थ त्यहाँ यात्रा गर्दा पुनः विचार गर्नु भन्ने हो। ड्रोन र मिसाइल आक्रमण, सशस्त्र द्वन्द्व र आतंकवादको जोखिम रहेको मन्त्रालयले स्पष्ट पारेको छ।
साउदी अरबले यमनका हुथी विद्रोहीले राजधानी रियादलाई लक्षित गरी प्रहार गरेको ब्यालेस्टिक मिसाइललाई आकासमै नष्ट गरेको बताएपछि अमेरिकाले यो चेतावनी जारी गरेको हो। साउदी नेतृत्वको गठबन्धनका अनुसार हुथीहरूले बिशा, ताइफ, फरासान र यान्बु सहरका नागरिक संरचनालाई समेत निशाना बनाउने प्रयास गरेका थिए।