हर्मुज जलमार्ग खोल्न इरानका सर्त
- ०५ अशोज २०८३
- १ मिनेटको पढाई
तेहरान – इरानले तेल र ग्यास आपूर्तिको महत्त्वपूर्ण हर्मुज जलसन्धि पुनः खोल्नका लागि अमेरिका सामु आफ्ना सर्तहरू पठाएको छ। इरानले मध्यपूर्व युद्धदेखि नै यो जलमार्गमा नियन्त्रण गरिरहेको छ। फेब्रुअरीको अन्त्यतिर अमेरिका–इजरायली हमलाबाट सुरु भएको मध्यपूर्व द्वन्द्वमा अमेरिका र इरान महिनौंदेखि गतिरोधमा फसेका छन्।
इरानले त्यसयता विश्वको तेल र ग्यासका लागि महत्त्वपूर्ण यातायात मार्ग हर्मुज जलमार्गमाथि कडा नियन्त्रण कायम राखेको छ भने वासिङ्टनले इरानी बन्दरगाह र अर्थतन्त्रलाई प्रभावित पार्ने अभियान चलाएको छ। ‘हाम्रा सन्देश र सर्तहरूको व्याख्या मध्यस्थकर्तामार्फत अर्को पक्षलाई स्पष्ट रूपमा पुर्याइएको छ,’ इरानी संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफले भने।
युद्ध अन्त्यका लागि भएका वार्तामा उनी मुख्य वार्ताकारका रूपमा रहेका छन्। ‘जबसम्म सर्तहरू पूरा हुँदैनन् र अमेरिकी प्रतिबद्धताहरू पालना हुँदैनन्, तबसम्म वार्ताअघिको अवस्थामा फर्कन र जलमार्ग खुला गर्ने कुरा सम्भव हुनेछैन,’ उनले इरानी राष्ट्रिय टेलिभिजनलाई दिएको एक अन्तर्वार्तामा भनेका छन्।