७ अशोज २०८३, बुधबार
23 September 2026, Wednesday

अमेरिकी सहायता खारेज हुँदा नेपालसहित विश्वभर गम्भीर असर

अमेरिकी सहायता खारेज हुँदा नेपालसहित विश्वभर गम्भीर असर

न्युयोर्क- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले ‘युएसएआइडी’ खारेज गरेपछि विश्वभर यसको गम्भीर असर पर्न थालेको छ। कुनै समय विश्वकै सबैभन्दा ठूलो मानवीय सहायता दिने यो संस्था बन्द हुँदा संसारभर भोकमरी, औषधिको अभाव, बालविवाह र बालबालिका बेचबिखन जस्ता समस्या बढेका छन्।

नेपालमा पनि यसको नराम्रो असर देखिएको छ। सहायता कटौतीका कारण विपन्न गर्भवती महिलाले पाउने पोषण र स्वास्थ्य स्याहार कार्यक्रम बन्द हुँदा आमा र शिशुको मृत्यु बढ्न थालेको छ। म्यानमार, नाइजेरिया र सोमालियामा पनि खाना र पोषण कार्यक्रम रोकिएपछि धेरै बालबालिकाको ज्यान गएको छ। विदेशी सहायता कटौतीका कारण यो शताब्दीमै पहिलो पटक सन् २०२५ मा बाल मृत्युदर बढ्ने अनुमान गरिएको छ।

सन् १९६० को दशकमा सुरु भएको युएसएआइडीले यो शताब्दीको सुरुवाती २० वर्षमा मात्रै करिब ९ करोड १० लाख मानिसको ज्यान बचाएको एक अध्ययनले देखाएको थियो। यसमा ५ वर्षमुनिका ३ करोड बालबालिका थिए। तर, ट्रम्पलगायतका आलोचकले भने यो संस्था खर्चिलो र अव्यवस्थित भएको भन्दै यसलाई बन्द गरेका हुन्।

यता, अमेरिकी विदेश मन्त्रालयले भने नयाँ नीतिअन्तर्गत सहायता कार्यक्रमलाई अझ प्रभावकारी बनाइएको बताएको छ। अमेरिकाले अहिले गैरसरकारी संस्थाको सट्टा सीधै विदेशी सरकारसँग सम्झौता गरेर काम गरिरहेको छ। उसले अन्य देशले पनि सहायतामा बढी लगानी गरेर दायित्व बाँड्नुपर्ने तर्क गरेको छ।