७ अशोज २०८३, बुधबार
23 September 2026, Wednesday

प्रधानमन्त्री बालेन्द्र शाह अमेरिका प्रस्थान, यस्तो छ कार्यतालिका

प्रधानमन्त्री बालेन्द्र शाह अमेरिका प्रस्थान, यस्तो छ कार्यतालिका

काठमाडौं- संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह आज अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गरेका छन्।

प्रधानमन्त्री शाह आज साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको विमानमार्फत दोहा हुँदै त्यसतर्फ गएका हुन्। दोहा विमानस्थलमा उनलाई कतारका लागि कार्यवाहक नेपाली राजदूत कुमार राई र दूतावासका अधिकारीहरूले स्वागत गर्नेछन्।

त्यहाँबाट उनी स्थानीय समयअनुसार बुधबार न्युयोर्क प्रस्थान गर्नेछन्। न्युयोर्कको जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा र अमेरिकाका लागि कार्यवाहक राजदूत शरदराज अरनले उनलाई स्वागत गर्ने कार्यक्रम छ।

न्युयोर्क पुगेपछि प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगमा जानेछन्। त्यहाँ उनलाई भ्रमणको विषयमा परराष्ट्र सचिव तथा अन्य अधिकारीहरूले जानकारी गराउनेछन्। त्यसलगत्तै उनी आफ्नो सम्मानमा आयोजना हुने समारोहमा सहभागी हुनेछन्।

असोज ८ गते प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता हुने तालिका छ। सोही दिन उनले महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्नेछन्।

भ्रमण सकेर प्रधानमन्त्री शाह असोज ९ गते न्युयोर्कबाट फर्कनेछन् भने असोज १० गते स्वदेश आइपुग्नेछन्।