इरानमाथि फेरि हमला गर्ने कि सम्झौता ? ट्रम्पले भने– ‘ठूलो निर्णय गर्नुपर्नेछ’
- ०७ अशोज २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः सैन्य आक्रमण गर्ने वा शान्ति सम्झौताको बाटो रोज्ने भन्ने विषयमा आफूले ‘ठूलो निर्णय’ लिनुपर्ने बताएका छन्। संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै ट्रम्पले समस्या समाधान नभए इरानलाई ध्वस्त पार्न सक्ने चेतावनीसमेत दिए।
आफूले ‘शक्तिको माध्यमबाट शान्ति’ चाहेको दाबी गर्दै उनले नोभेम्बरको अमेरिकी चुनावपछि इरानसँग सम्झौता हुन सक्ने सम्भावना औँल्याए। सोही दिन न्युयोर्कमै कतारको मध्यस्थतामा अमेरिकी विशेष दूत स्टिभ विट्कफ र इरानी विदेशमन्त्री अब्बास अराघचीको टोलीबीच तीन घण्टा वार्ता भएको छ। ट्रम्पले यो छलफल निकै फलदायी भएको बताएका छन् भने इरानले युद्ध र आक्रमणका गतिविधि रोक्नुपर्ने सर्त राखेको छ।
महासभा सम्बोधनका क्रममा ट्रम्पले रुस–युक्रेन युद्ध पनि चाँडै कूटनीतिक रूपमा टुंग्याउने दाबी गरे। उनले अमेरिकालाई एआईको दौडमा चीनभन्दा अगाडि राख्ने र प्रविधिमाथि कुनै पनि विश्वव्यापी नियन्त्रण स्वीकार नगर्ने बताए। संयुक्त राष्ट्रसंघ जस्ता अन्तर्राष्ट्रिय संस्थाको आलोचना गर्दै उनले विश्व सरकारको कुनै अस्तित्व नरहेको र देशको सार्वभौमिकता नै मुख्य कुरा भएको जिकिर गरे।