बङ्गालको खाडीमा बनेको ‘डीप डिप्रेसन’ आज राति भारतीय तटमा ठोक्किने
- ०७ अशोज २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- बङ्गालको खाडीमा बनेको शक्तिशाली न्यून चापीय प्रणाली (डीप डिप्रेसन) आज राति भारतीय तटमा पुग्ने भएको छ। १२ किलोमिटर प्रतिघण्टाको गतिमा पश्चिमतर्फ अघि बढिरहेको यो प्रणाली बुधबार राति उत्तर आन्ध्र प्रदेश र दक्षिण ओडिशाको तटबिच रहेको कलिङ्गपट्टनम नजिकबाट जमिनमा प्रवेश गर्ने भारतीय मौसम विज्ञान विभागले जनाएको छ।
यस प्रणालीका कारण भारतका विभिन्न राज्यमा मौसम बदली भएको छ। मध्य प्रदेश र बिहारमा भारी वर्षाको चेतावनी जारी गरिएको छ। बिहारका सबै ३८ वटा जिल्लामा वर्षाको सम्भावना देखाउँदै पहेँलो सतर्कता दिइएको छ भने मध्य प्रदेशका केही क्षेत्रमा अत्यधिक पानी पर्ने अनुमान गरिएको छ।
अर्कोतर्फ राजस्थानमा भने वर्षा रोकिएपछि अत्यधिक गर्मी बढेको छ। जेसलमेर, बीकानेर र बाडमेर लगायतका सहरमा तापक्रम ४१ डिग्री सेल्सियससम्म पुगेको छ। मौसम विभागका अनुसार राजस्थानमा आगामी चारदेखि पाँच दिनसम्म पानी पर्ने सम्भावना छैन र गर्मी अझै बढ्न सक्छ।