८ अशोज २०८३, बिहिबार
24 September 2026, Thursday

एआईको खतरा रोक्न विश्वभरका देश मिल्नुपर्छ: गुटेरेस

एआईको खतरा रोक्न विश्वभरका देश मिल्नुपर्छ: गुटेरेस

न्युयोर्क- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले एआई (कृत्रिम बुद्धिमत्ता) को खतरा रोक्न विश्वभरका देशहरूले मिलेर काम गर्नुपर्ने बताएका छन्। उनले यसको सुरक्षित व्यवस्थापनका लागि सबै देश सहमत हुने एउटा साझा नियम बनाउनुपर्नेमा जोड दिए।

मंगलबार राष्ट्रसंघ महासभाको ८१औँ अधिवेशनमा बोल्दै गुटेरेसले अहिले संसारमा शक्तिको रूप फेरिएको बताए। पहिले जमिन र उद्योगमा हुने शक्ति अहिले डेटा र कम्प्युटरको क्षमतामा पुगेको उनको भनाइ छ।

एआईको विकास निकै छिटो भइरहेकाले यसको असर बुझ्न र चुनौतीको सामना गर्न सबैले मिलेर काम गर्नुपर्ने उनले बताए। एआईमा अगाडि रहेका देशहरूले आफ्ना नागरिकको सुरक्षा गर्दै अरू देशसँग पनि जानकारी बाँड्न र सहकार्य गर्नुपर्ने उनले प्रस्ट पारे। गुटेरेसले शीतयुद्धका बेला परमाणु हतियारको खतरा रोक्न देशहरू मिलेजस्तै अहिले एआईको खतरा रोक्न पनि साझा समझदारी आवश्यक रहेको बताए।

उनले एआईको विकास गर्दा मानिसको भलाइलाई सबैभन्दा माथि राख्नुपर्ने बताए। बालबालिकाको सुरक्षामा ध्यान दिनुपर्ने र मानिसको जीवनसँग जोडिएका महत्त्वपूर्ण निर्णय गर्ने जिम्मा मेसिनलाई मात्र दिन नहुने उनको भनाइ छ। साथै, आफैँ चल्ने ज्यानमारा हतियारले ल्याउन सक्ने खतराप्रति होसियार हुन पनि उनले सबैलाई आग्रह गरे।