८ अशोज २०८३, बिहिबार
24 September 2026, Thursday

जलवायु न्यायका लागि पर्याप्त आर्थिक सहयोग आवश्यक : गुटेरेस

जलवायु न्यायका लागि पर्याप्त आर्थिक सहयोग आवश्यक : गुटेरेस

न्युयोर्क- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले तापक्रम वृद्धि रोक्न जलवायु न्याय र विकासशील देशहरूलाई पर्याप्त आर्थिक सहयोग चाहिने बताएका छन्। आफ्नो कार्यकालको अन्तिम जलवायु सम्मेलनमा बोल्दै उनले इन्धन कम्पनीहरूले वातावरणलाई ‘खुला ढल’ जस्तो बनाएको भन्दै तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरे।

न्युयोर्कमा भएको कार्यक्रममा गुटेरेसले ठुला तेल कम्पनीहरूले खर्बौं डलर नाफा कमाउँदा पनि विकासशील देशहरूले जलवायु परिवर्तनसँग जुध्न एकदमै कम मात्र आर्थिक सहयोग पाएको बताए। आगामी कोप–३१ जलवायु सम्मेलन भने टर्की र अस्ट्रेलियाले मिलेर आयोजना गर्दैछन्।

युरोपको गर्मीदेखि नेपालको बाढीपहिरोसम्मले जलवायु परिवर्तनको गम्भीर असर देखाइरहेका छन्। यसै सन्दर्भमा नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनको जोखिममा रहेका तर कम ग्यास उत्सर्जन गर्ने देशहरूलाई दिइने आर्थिक सहयोग परोपकार नभई कानुनी र नैतिक दायित्व भएको बताएका छन्।

विज्ञ राहेल क्लिटसले पनि धेरै प्रभावित तर कम सहयोग पाएका देशहरूका लागि क्षतिपूर्तिको आवाज उठाउन नेपालको भूमिका महत्त्वपूर्ण हुने बताइन्। उनले गुटेरेसले कमजोर देशहरूको आवाजलाई विश्वमञ्चमा प्रभावकारी रूपमा उठाइरहेको पनि उल्लेख गरिन्।