नेपाललाई एसियाको आर्थिक र रणनीतिक ‘पुल’ बनाउने परराष्ट्रमन्त्रीको लक्ष्य
- ०९ अशोज २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- परराष्ट्रमन्त्री शिशिर खनालले नेपाललाई एसियाको आर्थिक, प्राविधिक र रणनीतिक पुलका रूपमा विकास गर्नुपर्ने बताएका छन्। न्युयोर्कमा आयोजित ‘एसियाको उदाउँदो शताब्दीमा नेपालको भविष्यको मार्गदर्शन’ विषयक कार्यक्रममा बोल्दै उनले नेपालको भौगोलिक अवस्थालाई चुनौतीको सट्टा अवसरमा बदल्नुपर्नेमा जोड दिए। नेपाल सानो देश नभई रणनीतिक रूपमा निकै महत्त्वपूर्ण स्थानमा रहेको उनले स्पष्ट पारे।
हालैको बाढीलाई ‘हिमाली सुनामी’ को नाम दिँदै मन्त्री खनालले जलवायु परिवर्तनलाई नेपालको परराष्ट्र नीतिको मुख्य प्राथमिकतामा राख्नुपर्ने बताए। विपद्बाट बच्न पूर्वसूचना प्रणाली, तथ्याङ्क आदानप्रदान र अन्तर्राष्ट्रिय समुदायसँगको सहकार्य आवश्यक रहेको उनले औंल्याए।
एसियाको आर्थिक उदय नेपालका लागि ठूलो अवसर भएको भन्दै उनले दुई ठूला छिमेकी देशबीच रहेर नेपालले कसरी फाइदा लिने भन्ने सोच्ने बेला आएको बताए। नेपालको जलविद्युत्लाई क्षेत्रीय अर्थतन्त्रसँग जोड्दै भारत र बंगलादेशसम्म बिजुली बेचिरहेको उनले उल्लेख गरे। साथै, चीनसँग सडक, सुरुङ, हवाई र विद्युतीय सम्पर्क बढाउँदै हिमालय वारपार सञ्जाल विकास गर्नुपर्नेमा उनले जोड दिए। नेपालको विकासका लागि विश्वभरका साझेदारलाई लगानी गर्न उनले स्वागतसमेत गरेका छन्।