९ अशोज २०८३, शुक्रबार
25 September 2026, Friday

सगरमाथाबाट गुटेरेसले दिएको चेतावनी राष्ट्रसंघमा फेरि गुञ्जियो

सगरमाथाबाट गुटेरेसले दिएको चेतावनी राष्ट्रसंघमा फेरि गुञ्जियो

न्युयोर्क- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले तीन वर्षअघि सगरमाथा क्षेत्रबाट दिएको जलवायु संकटको चेतावनी फेरि विश्वमञ्चमा गुञ्जिएको छ। हालै ८१औँ महासभालाई सम्बोधन गर्दै उनले त्यतिबेला आफूले दिएको सन्देशलाई गम्भीर रूपमा लिन विश्व समुदायलाई आग्रह गरे।

सन् २०२३ मा सोलुखुम्बु पुगेका गुटेरेसले ‘विश्वको छाना खसिरहेको छ’ भन्दै हिउँ पग्लिने क्रम बढेकोमा चिन्ता व्यक्त गरेका थिए। नेपालले ३० वर्षमा आफ्नो एक तिहाइ हिउँ गुमाएको र हिमनदी पग्लिने दर ६५ प्रतिशतले बढेको उनले बताएका थिए। हिमालको पानीमा एक अर्बभन्दा बढी मानिस निर्भर रहेकाले यो हिमाली क्षेत्रको मात्र नभई विश्वकै समस्या भएको उनले स्पष्ट पारे।

पर्यटनविद् आङछिरिङ शेर्पाले गुटेरेसको सगरमाथा भ्रमणका क्रममा हिमालमा परेको असरबारे आफूले जानकारी गराएको सम्झिए। गुटेरेसको भनाइ कुनै बढाइचढाइ नभई हिमालको वास्तविक चित्र भएको उनले बताए। अहिले हिमनदी पग्लिने, हिमताल बढ्ने र बाढीपहिरोको जोखिम झन् बढेको उनले प्रस्ट पारे।

हिमालमा भइरहेको यो परिवर्तनले नेपाललाई मात्र नभई दक्षिण एसियाको ठूलो जनसंख्या र कृषि प्रणालीलाई असर गर्ने विज्ञहरूले बताएका छन्। हिमाल जोगाउन विश्व समुदायले जिम्मेवारीपूर्वक कदम चाल्नुपर्नेमा पर्यटनविद् शेर्पाले जोड दिए।