दिगो शान्तिका लागि देशकै आफ्नै नेतृत्व हुनुपर्छ: परराष्ट्रमन्त्री खनाल
- ०९ अशोज २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- संयुक्त राष्ट्रसंघको महासभामा बोल्दै परराष्ट्रमन्त्री शिशिर खनालले दिगो शान्ति निर्माणका लागि देश आफैँले नेतृत्व लिनुपर्ने बताएका छन्। न्युयोर्कमा भएको शान्ति निर्माण आयोगको बैठकमा उनले शान्ति प्रक्रियामा सबैको सहभागिता र जवाफदेही शासन व्यवस्था हुनुपर्नेमा जोड दिए।
उनले नेपालको शान्ति प्रक्रियालाई सफल उदाहरणको रूपमा प्रस्तुत गरे। समाजले आफ्नै शान्ति प्रक्रियाको नेतृत्व गर्दा मात्र मेलमिलाप दिगो हुने उनले बताए। प्रविधिसँग जोडिएको नयाँ पुस्ताले पारदर्शी शासन र जवाफदेही संस्था खोजिरहेको बताउँदै उनले नेपालमा भएको नयाँ पुस्ताको आन्दोलनलाई संवादबाटै समाधान गरिएको दाबी गरे। संकट आउनुअघि नै जनचाहनालाई सम्बोधन गरेर शान्तिपूर्ण रूपमा चुनाव गराई सत्ता हस्तान्तरण भएको उनले स्मरण गरे।
मन्त्री खनालले शान्ति निर्माणका लागि तीनवटा मुख्य कुरामा जोड दिए। स्थानीयपनलाई बलियो बनाउने, विधिको शासन र न्याय दिने संस्थालाई सुदृढ गर्ने, र राष्ट्रिय आवश्यकताअनुसार मात्र अन्तर्राष्ट्रिय सहयोग लिने कुरा उनले अघि सारे। बाहिरबाट थोपरिएको भन्दा देशको क्षमता र प्राथमिकतासँग मिल्ने अन्तर्राष्ट्रिय सहयोग मात्र प्रभावकारी हुने उनले प्रस्ट पारे। शान्ति भनेको युद्ध नहुनु मात्र नभएर मानव, प्रकृति र सम्पूर्ण ब्रह्माण्डबीचको सन्तुलन भएको उनको भनाइ थियो।