१० अशोज २०८३, शनिबार
26 September 2026, Saturday

पहिरोले नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग अवरुद्ध

पहिरोले नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं- लगातारको वर्षापछि खसेको पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गको चितवन खण्ड अझै खुल्न सकेको छैन। बिहीबार बेलुका ८ बजेदेखि बन्द भएका यी दुवै सडकमा अहिले पनि ठाउँठाउँमा पहिरो झरिरहेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले निरन्तर पहिरो खसिरहेकाले सडक खुलाउन समस्या भएको बताए। उनले सडक एकतर्फी खुलाएर बीचमा रोकिएका पोखरा र नारायणगढतर्फ जाने सवारीसाधनलाई भने दिउँसो गन्तव्यतर्फ पठाइएको जानकारी दिए।

सडकका विभिन्न ठाउँमा ढुङ्गा र लेदोसहितको पहिरो खस्ने क्रम रोकिएको छैन। जसका कारण बिहीबारदेखि आएका धेरै सवारीसाधन सडकमै अलपत्र परेका छन्। सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले तत्कालका लागि सवारी सञ्चालनमा रोक लगाएको छ।