सप्तकोशीमा पानीको बहाव बढ्यो, कोशी ब्यारेजका ३१ ढोका खुला
- ०९ अशोज २०८३
- १ मिनेटको पढाई
काठमाडौं- बुधबार रातिदेखिको लगातार वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले दिउँसो २ बजे पानीको बहाव प्रतिसेकेन्ड २ लाख ४० हजार ५ सय ५५ क्युसेक पुगेपछि ३१ वटा ढोका खोलिएको बताए। उनका अनुसार यसअघि बिहान १० बजे १ लाख ९८ हजार क्युसेक र दिउँसो १ बजे २ लाख २९ हजार क्युसेक पानीको बहाव मापन हुँदा क्रमशः २५ र ३० वटा ढोका खोलिएका थिए।
ब्यारेजमा पानीको बहाव १ लाख ५० हजार क्युसेक नाघेपछि खतराको सङ्केतस्वरूप पश्चिमतर्फ रातो बत्ती बाल्ने गरिन्छ। पानीको सतह निरन्तर बढिरहेकाले प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन र नदीमा माछा मार्ने तथा दाउरा सङ्कलन गर्ने काम नगर्न आग्रह गरेको छ। ५२ मूल र ४ नहर गरी कोशी ब्यारेजमा जम्मा ५६ वटा ढोका छन्।