१० अशोज २०८३, शनिबार
26 September 2026, Saturday

न्युयोर्कमा नेतान्याहुको विरोध गर्दा हलिउड अभिनेत्रीहरू पक्राउ

न्युयोर्कमा नेतान्याहुको विरोध गर्दा हलिउड अभिनेत्रीहरू पक्राउ

न्युयोर्क- इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरुद्ध न्युयोर्कमा भएको प्रदर्शनमा हलिउड अभिनेत्री सुसान सारन्डन र ह्याना आइनबिन्डर पक्राउ परेका छन्। संयुक्त राष्ट्रसङ्घको महासभामा नेतान्याहुले सम्बोधन गर्ने तयारी गरिरहँदा उनीहरूलाई न्युयोर्क प्रहरीले नियन्त्रणमा लिएको हो।

‘ज्युइस भ्वाइस फर पिस’ ले आयोजना गरेको प्रदर्शनमा सहभागीहरूले इजरायललाई हतियार दिन बन्द गर्न र नरसंहार रोक्न माग गर्दै सडकमा नाराबाजी गरेका थिए। प्रहरीले हतकडी लगाएर अभिनेत्रीहरूलाई नियन्त्रणमा लिए पनि यस विषयमा तत्काल कुनै औपचारिक जवाफ दिएको छैन।

यता, महासभामा नेतान्याहुले भाषण सुरु गर्नेबित्तिकै दर्जनौँ देशका प्रतिनिधिहरू सभाहलबाट बाहिरिएका थिए। सम्बोधनका क्रममा उनले प्यालेस्टाइनलाई राज्यको मान्यता दिने बेलायत र फ्रान्सजस्ता देशको कडा आलोचना गरे।

लामो समयदेखि गाजा युद्धको विरोध गर्दै आएकी अभिनेत्री सारन्डनले आफ्ना राजनीतिक विचारका कारण हलिउडमा काम गुमाउनु परेको बताउँदै आएकी छन्। उनले चलचित्र क्षेत्रमा अझै पनि जायोनिस्ट (यहुदीवादी) हरूको बलियो प्रभाव रहेको दाबी गरेकी छन्।