नारायणीमा बाढी खतराको नजिक, गण्डक ब्यारेजका सबै ढोका खोलिए
- १० अशोज २०८३
- १ मिनेटको पढाई
काठमाडौं –सुस्तापूर्व) हुँदै बग्ने नारायणी नदीमा बाढी खतराको तह नजिक पुगेको छ। देवघाट जलमापन केन्द्रका अनुसार आज दिउँसो ३ बजे नदीमा पानीको सतह ८ दशमलव ९८ मिटर पुगेको छ। पानीको सतह ९ मिटर पुगेपछि खतराको तह मानिन्छ। शुक्रबार राति नै चेतावनीको तह पार गरेको नदीमा पानी निरन्तर बढिरहेको छ।
नदीमा पानी बढेसँगै तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्यायले बताए। उनले बाढी र पहिरोको जोखिममा रहेका गैँडाकोट, देवचुली, कावासोतीलगायतका पालिकामा मानिसलाई नदी किनारमा नजान माइकिङ गरिएको र आपत्कालीन उद्धारका लागि सुरक्षाकर्मीलाई सतर्क अवस्थामा राखिएको जानकारी दिए।
यसैगरी, बाढीको चेतावनी तह पार गरेपछि त्रिवेणीस्थित गण्डक ब्यारेजका सबै ३६ वटै ढोका खोलिएको छ। इलाका प्रहरी कार्यालय त्रिवेणीका सुरेश पालका अनुसार हाल ब्यारेजमा पानीको बहाव ३ लाख ४ सय क्युसेक पुगेको छ। ब्यारेजमा पानीको बहाव ३ लाख क्युसेक पुगेपछि चेतावनीको तह मानिन्छ।
नदीमा बाढी आएपछि नेपाल र भारततर्फ लगिएका दुवै नहरमा पानी पूर्ण रूपमा बन्द गरिएको पालले बताए। पानीको सतह बढ्दै जाँदा सुस्ताको जमिन डुबानमा परेको र त्यहाँका प्रभावितलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको उनले जानकारी दिए।