११ अशोज २०८३, आइतवार
27 September 2026, Sunday

भोटेकोशी बाढीको एक महिना : १४ सयभन्दा बढीको मृत्यु, पुनर्निर्माणमा खर्बौं लाग्ने

भोटेकोशी बाढीको एक महिना : १४ सयभन्दा बढीको मृत्यु, पुनर्निर्माणमा खर्बौं लाग्ने

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा विनाशकारी बाढी आएको आज एक महिना पूरा भएको छ। गत भदौ १० गतेको बाढीले रसुवा, नुवाकोट र धादिङमा अकल्पनीय मानवीय तथा भौतिक क्षति गरेको छ। सरकारी तथ्यांकअनुसार बाढीमा परेर अहिलेसम्म १४ सय ५३ जनाको मृत्यु भएको छ भने ५ हजार ५ सय ५० जना अझै बेपत्ता छन्। तीनवटै सुरक्षा निकायका हजारौं सुरक्षाकर्मी अहोरात्र खटिएर करिब १४ हजार जनाको उद्धार गरेका छन्।

बाढीले ४ खर्ब ८ अर्ब रुपैयाँभन्दा बढीको नोक्सानी पुर्‍याएको छ। भत्किएका संरचनाहरुको पुनर्निर्माण र प्रभावितको पुनस्र्थापना गर्न ७ खर्ब २३ अर्ब रुपैयाँभन्दा बढी रकम आवश्यक पर्ने अनुमान गरिएको छ। बाढीले ७ हजार ५ सयभन्दा बढी निजी घर, दर्जनौं सार्वजनिक भवन, जलविद्युत् आयोजना, सडक र पुलहरु बगाएको छ। यसबाट हजारौं परिवार र हजारौं हेक्टर कृषि बाली प्रभावित भएको छ।

बाढी गएलगत्तै नेपाल रेडक्रस सोसाइटी र अन्तर्राष्ट्रिय महासंघ (आइएफआरसी) ले प्रभावित क्षेत्रमा उद्धार र राहतको काम तीव्र पारेका छन्। आइएफआरसीका महासचिव जगन चापागाईंले आपत्कालीन कोषमार्फत १२ लाख डलर सहयोग उपलब्ध गराएर उद्धार र राहतमा सघाएको बताए। नेपाल रेडक्रसका महामन्त्री ऋषिरमण खनालले प्रभावित परिवारलाई खाद्यान्न, त्रिपाल, खानेपानी, औषधि उपचार र केही परिवारलाई नगद सहयोगसमेत निरन्तर उपलब्ध गराइरहेको जानकारी दिए। रेडक्रसले शव व्यवस्थापनका लागि सुरक्षा निकायलाई २ हजार वटा ब्यागसमेत उपलब्ध गराएको छ।