द्वन्द्व अन्त्य भए मात्रै विस्थापन रोकिन्छ : राष्ट्रसंघ
- १० अशोज २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- संयुक्त राष्ट्रसंघका शरणार्थीसम्बन्धी उच्चायुक्त बारहम सालिहले द्वन्द्व र हिंसाका कारण हुने विस्थापन रोक्न शान्ति नै मुख्य विकल्प भएको बताएका छन्। शुक्रबार राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले दशकौँसम्म शरणार्थी शिविर कायमै राख्नु सफलता नभएको भन्दै मानिसलाई सहयोग नै नचाहिने अवस्था सिर्जना गर्नुपर्नेमा जोड दिए। सालिहले द्वन्द्व अन्त्य गर्न र शान्ति प्रक्रियालाई निरन्तरता दिन सुरक्षा परिषद्का सदस्य राष्ट्रहरूलाई आफ्नो राजनीतिक प्रभाव प्रयोग गर्न आग्रहसमेत गरे।
हाल विश्वभर द्वन्द्व, हिंसा र सुरक्षाको खताराका कारण ११ करोड ७० लाखभन्दा बढी मानिस विस्थापित भएका छन्। विस्थापनको दर समाधानका प्रयासभन्दा तीव्र गतिमा बढिरहेको भन्दै उनले यसलाई मानवीय समस्याका रूपमा मात्र नभई अन्तर्राष्ट्रिय शान्ति र सुरक्षासँग जोडेर हेर्नुपर्ने बताए।