विदेशमा रहेका नेपालीलाई भोट हाल्न दिने विषयमा निर्वाचन आयोगको छलफल
- १० अशोज २०८३
- १ मिनेटको पढाई
काठमाडौं- निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानमा सहभागी गराउने विषयमा सरोकारवालाहरूसँग छलफल अघि बढाएको छ। प्रमुख आयुक्त मानबहादुर कार्कीसहितका पदाधिकारीले विदेशमा रहेका नेपालीलाई मताधिकार दिने विषयमा विभिन्न विकल्पमाथि कुराकानी गरिरहेका छन्।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार विदेशमा रहेका नेपालीको विवरण संकलन, मतदाता नामावलीमा समेट्ने तरिका र चुनावमा कूटनीतिक नियोगको भूमिकाबारे छलफल भइरहेको छ। यसै विषयमा आयोगले परराष्ट्र मन्त्रालयको सहयोगमा विभिन्न देशका नेपाली राजदूत र कूटनीतिक नियोगका प्रमुखसँग पनि कुराकानी गरेको छ।
आयोगले दूतावासमा मतदान केन्द्र राख्ने, हुलाकमार्फत भोट हाल्ने, प्रतिनिधिमार्फत वा विद्युतीय माध्यमबाट मतदान गराउने जस्ता विकल्पमाथि अध्ययन गरिरहेको छ। यसका लागि आवश्यक पर्ने कानुनी र नीतिगत व्यवस्थाका बारेमा पनि तयारी भइरहेको आयोगले जनाएको छ।