११ अशोज २०८३, आइतवार
27 September 2026, Sunday

न्युयोर्क र न्युजर्सीमा शक्तिशाली आँधीको चेतावनी

न्युयोर्क र न्युजर्सीमा शक्तिशाली आँधीको चेतावनी

न्युयोर्क- न्युयोर्क र न्युजर्सी क्षेत्रमा शक्तिशाली समुद्री आँधी आउने भएपछि आपत्कालीन अवस्था (संकटकाल) घोषणा गरिएको छ। तीव्र गतिको हावाहुरी, भारी वर्षा र समुद्री बाढी आउने खतरा बढेपछि त्यहाँका अधिकारीहरूले सतर्कता अपनाएका छन्।

आँधीका कारण प्रतिघण्टा करिब ९० किलोमिटरको गतिमा हावा चल्ने र समुद्री किनारमा १२ फिटसम्म अग्ला छाल उठ्ने मौसमविद्हरूले बताएका छन्। सम्भावित जोखिमलाई हेरेर न्युयोर्ककी गभर्नर क्याथी होचुलले न्युयोर्क सहर र लङ आइल्यान्डसहितका क्षेत्रमा संकटकाल घोषणा गरेकी छन्। यस्तै, न्युजर्सीमा पनि ८ वटा काउन्टीमा संकटकाल लागू गरिएको छ।

सप्ताहन्तभरि भारी वर्षा हुने, रूखहरू ढल्ने र बिजुली सेवा अवरुद्ध हुन सक्ने चेतावनी दिइएको छ। खराब मौसमकै कारण न्युयोर्कको सेन्ट्रल पार्कमा आयोजना हुन लागेको चर्चित ‘ग्लोबल सिटिजन फेस्टिभल’सहित ठुल्ठूला कन्सर्ट र सार्वजनिक कार्यक्रमहरू रद्द गरिएका छन्। यो आँधी आइतबारपछि कमजोर हुँदै जाने र सोमबारदेखि मौसम सामान्य बन्ने अनुमान गरिएको छ।