१२ अशोज २०८३, सोमवार
28 September 2026, Monday

ट्रम्पले अस्वीकार गरे इरानको प्रस्ताव: होर्मुज जलमार्ग तत्काल नखुल्ने

ट्रम्पले अस्वीकार गरे इरानको प्रस्ताव: होर्मुज जलमार्ग तत्काल नखुल्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलमार्ग पुनः खुला गर्ने इरानको शर्तसहितको प्रस्तावलाई औपचारिक रूपमा अस्वीकार गरेका छन्। इरानले मध्यस्थकर्ता कतारमार्फत पठाएको सात दिने समयसीमासहितको सम्झौता अमेरिकालाई स्वीकार्य नभएको ट्रम्पले शनिबार स्पष्ट पारेका हुन्।

पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरान सम्झौता गर्न चाहे पनि उनीहरूका सर्तहरू अमेरिकाको लागि अनुकूल नभएको बताए। “उनीहरूले एउटा प्रस्ताव अघि सारेका थिए, तर मैले त्यसलाई अस्वीकार गरिदिएको छु,” ट्रम्पले भने, “सम्झौता हुनु राम्रो कुरा हो, म पनि सम्झौताको पक्षमा छु। तर उनीहरूले राखेका शर्तहरू बिल्कुलै स्वीकार्य छैनन्।”

यसअघि शुक्रबार इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीले कतारमार्फत अमेरिकासमक्ष एक कार्ययोजना प्रस्तुत गरेको जानकारी दिएका थिए। इरानको प्रस्तावमा अमेरिकाले सर्त पूरा गरेको खण्डमा सात दिनभित्र होर्मुज जलमार्ग सञ्चालनमा ल्याउने उल्लेख थियो। प्रस्तावअनुसार सुरुवाती चार-पाँच दिनमा अमेरिकाले निश्चित कदम चाल्नुपर्ने, छैटौँ दिनमा जलमार्ग खुला गर्ने र सातौँ दिनमा अन्तिम सम्झौताका लागि द्विपक्षीय वार्ता सुरु गर्ने इरानको योजना थियो।

इरानी विदेशमन्त्री अराघचीले अमेरिकाबाट अपेक्षा गरिएका कदमहरू नयाँ नभई गत जुन महिनामै भएको समझदारी पत्रमा समेटिएका विषयहरू भएको जिकिर गरेका थिए। तर, ट्रम्पले यो प्रस्ताव अस्वीकार गरेसँगै विश्वकै प्रमुख तेल ढुवानी मार्गको रूपमा रहेको होर्मुज जलमार्गमा जारी तनाव तत्काल अन्त्य हुने सम्भावना कमजोर बनेको छ।