देशभरका नदीमा बाढीको जोखिम: गण्डकीका सात जिल्ला ‘अति उच्च’ जोखिममा
- ११ अशोज २०८३
- १ मिनेटको पढाई
काठमाडौं- लगातारको वर्षाका कारण देशभरका नदी तथा खोलाहरूमा पानीको बहाव बढेको छ। बाढी पूर्वानुमान महाशाखाले आइतबार देशभर बाढीको जोखिम रहेको जनाउँदै विशेषगरी गण्डकी प्रदेशका विभिन्न जिल्ला अति उच्च जोखिममा रहेको बताएको छ।
महाशाखाका हाइड्रोलोजिस्ट प्रभाकर यादवले गण्डकी प्रदेशमा भएको वर्षाले नारायणी बेसिनअन्तर्गतका म्याग्दी, कालीगण्डकी, त्रिशूली, बुढीगण्डकी लगायतका नदीमा पानीको सतह उल्लेख्य बढेको बताए। कोशी बेसिनका सप्तकोशी, तमोर, अरुण र दूधकोशीका साथै कर्णाली र महाकाली नदीमा पनि पानीको बहाव बढेको छ। सोमबारसम्म यी नदीहरूमा बहाव केही घटबढ हुने महाशाखाको अनुमान छ।
महाशाखाले बाढीको जोखिमलाई वर्गीकरण गर्दै मुस्ताङ, मनाङ, कास्की, म्याग्दी, तनहुँ, नवलपरासी र चितवनलाई अति उच्च जोखिमको सूचीमा राखेको छ। त्यस्तै, कपिलवस्तु र रुपन्देही उच्च जोखिममा छन् भने गोरखा, रसुवा, धादिङ र नुवाकोटमा मध्यम जोखिम छ। अति उच्च र उच्च जोखिम भएका क्षेत्रमा नदीको बहाव खतराको तहसम्म पुग्न सक्ने भएकाले महाशाखाले स्थानीयलाई सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ।
काठमाडौं उपत्यकासहित बारा, पर्सा, रौतहट, काभ्रे र भक्तपुरमा भने बाढीको जोखिम न्यून रहेको छ। काठमाडौंमा आगामी २४ घण्टासम्म मध्यम जोखिम रहे पनि सोमबारदेखि यहाँका नदी तथा खोलानालाको अवस्था सामान्य बन्ने पूर्वानुमान गरिएको छ।