अविरल वर्षा: बाढी र पहिरोमा परी १२ जनाको मृत्यु, ७ बेपत्ता
- ११ अशोज २०८३
- १ मिनेटको पढाई
काठमाडौं- लगातारको अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभर १२ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा मात्रै ६ जनाले ज्यान गुमाएका छन् भने ७ जना अझै बेपत्ता छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले असोज ८ गतेदेखि हालसम्म १२ जनाको ज्यान गएको बताइन्। उनका अनुसार पाल्पामा एक, बागलुङमा चार र म्याग्दीमा दुई जना बेपत्ता छन्। उनीहरूको खोजी कार्य तीव्र पारिएको उनले जानकारी दिइन्।
प्राधिकरणले जोखिमयुक्त क्षेत्र पहिचान गरी उद्धार टोली परिचालन गरेको छ। हिमाली क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम बढेपछि ९ हजारभन्दा बढी पर्यटकलाई सुरक्षित स्थानमा सारिएको छ। त्यसैगरी, नवलपरासीमा १ हजार १०० भन्दा बढी नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।
प्राधिकरणले गण्डकी र लुम्बिनी प्रदेशलाई बाढीको उच्च जोखिम क्षेत्रका रूपमा पहिचान गरेको छ। पर्वतमा बाढीले केही घर बगाए पनि समयमै बस्ती सारिएकाले मानवीय क्षति हुन पाएन। म्याग्दीमा अलपत्र परेकाहरूको उद्धारका लागि दुईवटा हेलिकोप्टर पठाइएको महतले बताइन्। सुरक्षित स्थानमा राखिएका नागरिकलाई राहत वितरण भइरहेको र बाढी पहिरोको जोखिम अझै नटरेकाले सतर्कता अपनाउन प्राधिकरणले आग्रह गरेको छ।