नारायणीले नाघ्यो खतराको तह, भरतपुरको गोब्रेनी बस्तीमा पस्यो बाढी
- ११ अशोज २०८३
- १ मिनेटको पढाई
काठमाडौं- लगातारको भारी वर्षाले नारायणी नदीमा पानीको सतह खतराको तहभन्दा निकै माथि पुगेको छ। नदीमा सामान्यतया ९ मिटरलाई खतराको तह मानिन्छ, तर बिहान पानीको सतह ११.०६ मिटर पुगेपछि भरतपुर महानगरपालिका–१७ स्थित गोब्रेनी बस्तीमा बाढी पसेको छ।
घरभित्रै पानी पस्न थालेपछि स्थानीय बासिन्दा सुरक्षित ठाउँतर्फ सरेका छन्। उनीहरुले आफ्ना खाद्यान्न, लत्ताकपडा र महत्त्वपूर्ण घरायसी सामान उच्च र सुरक्षित ठाउँमा लगेका छन्। बाढी अझै बढ्न सक्ने भएकाले तल्लो तटीय क्षेत्र नवलपरासीका नदी किनारका बस्ती पनि उच्च जोखिममा परेका छन्।
स्थानीय प्रशासनले नदी किनारका बासिन्दालाई सतर्क रहन भनेको छ र विपद् व्यवस्थापन तथा उद्धार टोलीलाई तयारी अवस्थामा राखेको छ।