कालीगण्डकीको बाढीले बेनी बजार कटान गर्दै, ५०० परिवार उच्च जोखिममा
- ११ अशोज २०८३
- १ मिनेटको पढाई
काठमाडौं- लगातार तीन दिनदेखिको झरीले कालीगण्डकी नदीमा आएको बाढीले म्याग्दीको बेनी बजारतर्फ कटान सुरु गरेको छ। बाढीले पक्की तटबन्ध र सडक भत्काएपछि ५०० भन्दा बढी परिवार बस्ने सदरमुकाम उच्च जोखिममा परेको छ।
बेनी नगरपालिकाका प्रमुख सुरत केसीले गणेशटोल पछाडि किनारमा बनाएको करिब १०० मिटर पक्की पर्खाल र बेनी चक्रपथ सडक बाढीले बगाएको बताए। नदी बस्तीमै पस्ने खतरा बढेपछि मानिस र सामान सुरक्षित ठाउँमा सार्न थालिएको छ। डरका कारण कालीपुलका बासिन्दाले राति नै म्याग्दी बहुमुखी क्याम्पसमा गएर आश्रय लिएका छन्।
अहिले म्याग्दी र कालीगण्डकी नदीको दोभानमा पानीको सतहले खतराको तह पार गरेको छ। बाढी र पहिरोले मालढुङ्गा-बेनी सडकलगायत सबै बाटो बन्द हुँदा बेनी बजार सम्पर्कविहीन भएको छ। बाटोघाटो बन्द हुनुका साथै शनिबार रातिदेखि त्यहाँ बिजुली र खानेपानीसमेत पूर्ण रूपमा बन्द भएको छ।