१२ अशोज २०८३, सोमवार
28 September 2026, Monday

सेतीवेणी बजार डुबानमा: २६ घरमा क्षति, मिर्मीको पुल बगायो

सेतीवेणी बजार डुबानमा: २६ घरमा क्षति, मिर्मीको पुल बगायो

काठमाडौं- लगातारको झरीले कालीगण्डकी नदी र सेतीखोलामा आएको बाढी पसेपछि सेतीवेणी बजार डुबानमा परेको छ। बाढीले स्याङ्जाको गल्याङतर्फका १७ र पर्वततर्फका ९ गरी जम्मा २६ वटा घरमा क्षति पुर्याएको छ।

गएराति २ बजेतिर एक्कासि बाढी पसेपछि जोखिममा परेका स्थानीयलाई उद्धार गरी पर्वतको शालिग्राम माविमा राखिएको छ। त्यहाँ उनीहरुका लागि तत्काल खानपान र बस्ने व्यवस्था मिलाइएको छ। बाढीले केही पशुचौपाया बगाए पनि मानवीय क्षति भने भएको छैन।

बाढीले विश्वकै ठूलो शालिग्राम शिला पनि डुबाएको छ। यस्तै, आज बिहान मिर्मीस्थित स्याङ्जा र गुल्मी जोड्ने मोटरेबल पुलसमेत बाढीले बगाएको छ। कालीगण्डकीमा पानीको बहाव अत्यधिक बढेपछि जोखिम कम गर्न कालीगण्डकी ‘ए’ जलविद्युत आयोजनाका सबै ढोका खोलेर बिजुली उत्पादन बन्द गरिएको छ।